अब नेपाल कहिल्यै नाकाबन्दी हुँदैन : ओली


चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताउनुभएको छ । भरतपुरमा भएको चुनावी सभामा सम्बोधन गर्दै उहाँले देशमा शान्ति र स्थायित्वका लागि स्थिर सरकार आवश्यक रहेको बताउनुभयो ।

देश बनाउन पाँच वर्ष स्थायी सरकार बनाउने र देशमा विकासको लहर सिर्जना गर्ने बताउदै उहाँले वाम गठबन्धनले समृद्ध नेपाल, सुखी नेपाली बनाउने देशव्यापी अभियान ल्याएको बताउनुभयो । देशव्यापी रुपमा उम्मेदवारलाई आक्रमण हुँदा पनि सरकार आँखा चिम्लेर बसेको आरोप लगाउँदै नेता ओलीले नेता, नागरिकको माया नगर्ने र शान्ति कायम गर्न नसक्नेले देशलाई सम्वृद्ध बनाउन सक्छु भन्नु हाँस्यास्पद भएको बताउनुभयो ।

वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्दै उहाँले विगतलाई बिर्सिन र सानो चित्त नबनाउन आग्रह गर्नुभयो । चुनावअघि प्राविधिक कारणले नेकपा एमाले र माओवादी केन्द्र एक हुन नभ्याएको भन्दै उहाँले चुनाव लगत्तै पार्टी एकीकरण हुने बताउनुभयो । अब देश बनाउने र विकास गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने भन्दै उहाँले पार्टी एकता हुन्न कि भन्ने कुनै सन्देह नराख्न पनि आग्रह गर्नुभयो ।

अब नेपालमा कहिल्यै पनि नाकाबन्दी नहुने भन्दै उहाँले कांग्रेस सरकारले भारतसँग बिगारेको सम्बन्ध आफूले सुधारेर चीनसँग समेत पारवाहन सन्धी गरेको स्मरण गराउनुभयो । कार्यक्रममा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले दुई तिहाई बहुमत ल्याएर मुलुकलाई स्थायित्व दिनका लागि वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनुभयो ।

विकास र समृद्धिको नयाँ यात्रामा आफूहरु अघि बढेको भन्दै उहाँले नेपालको ईज्जत र प्रतिष्ठा उठाउनका लागि वाम शक्ति एक हुनु परेको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वामपन्थीहरुको नेतृत्वमा नेपालमा समाजवादी युगको प्रवेश हुने बताउनुभयो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: