कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल : श्रम मन्त्री


दोहा । नेपाली कामदारको प्रमुख गन्तव्य कतारले विदेशी कामदारको न्यूनतम तलब ७५० रियाल (करिव २१ हजार रुपैयाँ) मात्रै तोकेको छ । यो तलब नेपाल सरकारले निर्धारण गरेको भन्दा १५० रियाल कम हो ।

कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इशाविन साद अल जफैल अल नुएमीले अस्थायी रुपमा ७५० रियाल तोकिएको बताए । ‘अस्थायी रुपमा ७५० रियाल तोकिएको छ,’ श्रम मन्त्री नुएमीले बिहीबार एएफपीसँग भने, ‘कामदारको बसोबास, खाना र स्वास्थ्य सेवा भने रोजगारदाताको दायित्वभित्र पर्छ ।’

करिव ४ लाख नेपाली कार्यरत कतारले दुई साताअघि अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को बैठकमा कामदारको न्यूनतम तलब तोक्ने प्रतिवद्धता जनाएको थियो । आइएलओले कामदारको आधारभुत अधिकारलाई कतारले लागू गर्ने भएपछि कतारविरुद्धको मुद्धा बन्द गरेको थियो ।

कतारले तोकेको यो तलब नेपाली कामदारले अपेक्षा गरेभन्दा निकै कम हो । सन् २०१३ मै नेपाल सरकारले कतारमा बढ्दो महँगीलाई मध्यनजर गर्दै न्यूनतम तलब ९ सय रियाल तोकेको थियो । वैदेशिक रोजगार विभागले न्यूनतम तलब ९ सय र खाना वापत ३ सय गरी १२ सय रियाल तलब दिन तयार हुने कम्पनीलाई मात्रै कामदार पठाउने गरेको छ ।

‘कतारको निर्णयबाट म एकदमै निरास भएँ,’ १० वर्षदेखि कतारमा निर्माण क्षेत्रमा काम गर्दै आएका खोटाङका भक्त राईले भने, ‘कम्तीमा हाम्रो न्यूनतम तलब १५ सय रियाल हुनुपर्दथ्यो । १२ सय त अहिले नै पाइरहेका छौं । यो कामदारको हितभन्दा कम्पनी वा कतार आफूलाई बढी फाइदा हुने गरी तलब तोक्ने निर्णय भयो ।’

उनका अनुसार खाना बाहेक टेलिफोन, पानी, कोकफेन्टा खाँदा मात्रै मासिक ५ सय रियाल खर्च आउनेछ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: