राजनीति नीच व्यक्तिको अन्तिम आश्रय स्थल


वि.सं. २०३० असारमा सिंहदरबारमा आगलागी भएपछि नैतिकताका कारण प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिए। राजा वीरेन्द्रसमक्ष त्यो राजीनामा पुगेपछि राजाले आश्चर्यचकित हुँदै प्रधानमन्त्री विष्टलाई राजीनामाबारे प्रश्न गर्दा विष्टको जवाफ यस्तो थियो– ‘राष्ट्रको जिम्मेवारी लिएर पदमा बसेको मानिस जनताप्रति जिम्मेवार हुन जान्नुपर्छ सरकार। मुलुक चलाउने ठाउँ नै जलेपछि नैतिकताका कारण म यो पदमा बस्न अयोग्य भैसकेको छु।’ त्यसपछि राजा वीरेन्द्रले ‘त्यो आगो तपाईंले लगाएको त होइन नि’ भन्दा पनि प्रधानमन्त्री विष्टले राजनीनामा फिर्ता लिन मानेनन्। मुलुकमा हुने हरेक चुनावअघि आफ्नो पदबाट राजीनामा दिएर चुनावमा होमिने तथा लामो समयदेखि नेपालमा रहँदै आएको भारतीय सैनिक चेकपोस्ट र सैनिक मिसन हटाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रवादी नेता पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिबार बिहान निधन हुँदा उनलाई सरकारले कुनै राजकीय सम्मान नदिई बिदा गरियो।

मुलुकमा तीन–तीनपटक प्रधानमन्त्री भइसकेका स्वर्गीय विष्टको शवयात्रा र दाहसंस्कार एकजना साधारण मान्छेको जस्तै अत्यन्त सादगीपूर्ण थियो। एउटा पार्टीका कार्यकर्ता मर्दा अनि कुनै ठेकेदार गोली लागेर मर्दा शहीद घोषाणा गर्दै राष्ट्रिय झन्डा ओढाउन हतार गर्ने सरकार विष्टको निधन हुँदा गुमनाम अवस्थामा थियो। नेपाल सरकारले स्वर्गीय कीर्तिनिधि विष्टमाथि गरेको अपमानलाई लिएर अहिले सामाजिक सञ्जालका भित्ताहरू सरकारका विरोधका अक्षरहरूले भरिएका छन्। राष्ट्रियताप्रति प्रतिबद्ध अत्यन्तै इमानदार पूर्वप्रधानमन्त्री विष्टलाई गरेको सरकारी अपमानबाट जनताले यति धेरै चित्त दुखाउनु अस्वाभाविक पनि होइन। भारतले नेपालमाथि लगाएको पहिलो नाकाबन्दीलाई अदम्य साहसका साथ सामना गरी सबै नेपालीको मन जितेर राष्ट्रवादी छवि बनाएका पूर्वप्रधानमन्त्री मरिचमानसिं श्रेष्ठको निधन हुँदा विगतका सरकारले गरेको त्यत्रो अपमान हेरिसकेका नेपाली जनताबाट कीर्तिनिधि विष्टप्रति सम्मानको अपेक्षा किन राखिएको हो, त्योचाहिँ बुझ्न सकिएन।

नैतिकताकै कुरा गर्ने हो भने यौन दुव्र्यवहारको आरोप लागेपछि बेलायतका रक्षामन्त्री सर माइकल फेलोनले राजीनामा दिएको समाचार विश्वभर चर्चाको विषय बनिरहेको बेलामा नेपालमा भने हत्या, हिंसा, अपहरण, गुन्डागर्दीको आरोपमा जेल सजायँ भोगिसकेका र भोगिरहेका व्यक्तिहरूबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन आयोगमा धमाधम उम्मेदवारी दर्ता भइरहेको थियो। त्यो पनि ठूला दल भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसी पार्टीहरूको सिफारिश र समर्थनमा।

चुनावको मुखसम्म आइपुग्दा आफूलाई लोकतान्त्रिक भन्न रुचाउने पार्टीहरूले वामपन्थी विचारधाराका पार्टीहरूलाई हत्या–हिंसा रुचाउने अवसरवादी भनी आरोप लगाइरहेका छन्। स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा कम्युनिस्ट शासन आएपछि डर र त्रासको शासन चल्ने बताइसक्नुभएको छ। त्यसै गरी वामपन्थी भनिएका पार्टीहरूले लोकतान्त्रिक पार्टी भनिएकाहरूलाई सामन्ती, भ्रष्टाचारी, दलाल भनी आरोप लगाइरहेको अवस्था छ। हिजो राजनीतिक स्वार्थका लागि एकैठाउँमा बस्दा सर्पको खुट्टा सर्पले मात्र देख्छ भनेझैँ एक–अर्कालाई राम्ररी चिनिसकेकैले यस्तो आरोप लगाउन सजिलो भएको पनि होला। स्वार्थ मिल्दा एकले अर्कोलाई साधु देख्ने, नमिल्दा एकले अर्कोलाई अपराधी देख्ने राजनीतिक पार्टीहरूको चरित्र साँच्चिकै घिनलाग्दो छ।

चार दशकसम्म लगातार चुनाव जित्दै दुईपटक रक्षामन्त्री भइसकेका माइकल फेलोनले धेरै वर्षअघि घटेको घटनामा आरोप मात्र लाग्नेबित्तिकै आपूm सो पदका लागि उपयुक्त नभएको कुरा स्वीकारी नैतिकताका कारण राजीनामा दिएका थिए। यता नेपालमा भने त्यसै बेला रौतहट जिल्लाको १ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसको सिफारिशमा यौनकाण्डमा मुछिएका पूर्वसांसद कृष्ण यादवले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरिरहेका थिए।

त्यसो त यसभन्दा अघि नै नेकपा एमालेको समर्थनमा दीपक मनाङ्गेले मनाङ प्रदेशसभाको ‘ख’ मा उम्मेदवारी दर्ता गराइसकेका थिए। पहिले आपूmले सिफारिश गरेका मनाङ्गेको चौतर्फी विरोध भएपछि अतालिएर नेकपा एमालेले आफ्नो पार्टीका कार्यकर्तालाई त्यहाँबाट उम्मेदवारी दिन लगाए पनि पछि उम्मेदवारी फिर्ता लिन लगाई मनाङ्गेलाई नै समर्थन गर्ने निर्णय गरेको थियो। दीपक मनाङ्गे ज्यान मार्ने उद्योगमा मिति २०६४।७।१६ मा प्रहरी कारबाहीमा परी पछि धरौटीमा छुटेका व्यक्ति हुन्।

यसै गरी नेपाली कांग्रेसले गुन्डा नाइके भनेर चिनिएका गणेश लामालाई पनि प्रदेशसभाको उम्मेदवारमा उठाएको छ। कांग्रेस संसदीय बोर्डको सिफारिशका आधारमा लामाले पनि काभ्रे जिल्लाको क्षेत्र नम्बर १ ‘ख’ मा उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागिसकेका छन्। लामा चन्दा असुली, अपहरणजस्ता आपराधिक क्रियाकलापमा मिति २०६६।३।२१ मा प्रहरी कारबाहीमा परेका व्यक्ति हुन्। आपराधिक गतिविधिमा नाम आइरहे पनि उनीहरू भने आपूmहरू समाजसेवी भएको दाबी गर्दै दोष जति सबै मिडियामाथि लगाउँछन्। यिनीहरूमाथि अकुत सम्पत्ति थुपारेको आरोपमा अहिले पनि मुद्दा चलिरहेको छ।

आपराधिक छविका व्यक्तिहरूलाई संरक्षण दिँदै राजनीतिमा ल्याउने काममा नेकपा माओवादी केन्द्र पनि पछि हटेको छैन। नेकपा माओवादीले बैंकको लकरमा १४ थान गोली लुकाएको र नेपाल, भारत, चीन तीनवटै देशको नागरिकता भएका आरोपित लाक्र्याल लामालाई समानुपातिकमा स्थान दिएको छ। लामा पनि अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका व्यक्ति हुन्।

मधेसवादी पार्टीको कुरा गर्दा, दुई वर्षअघि कैलालीको टीकापुरमा २ वर्षीय बालकसहित ८ जना सुरक्षाकर्मीको हत्याकाण्डका आरोपित लक्ष्मणसिंह थारुलाई राष्ट्रिय जनता पार्टीले कैलाली ५ बाट प्रतिनिधिसभाका लागि सिफारिश गर्दै जेलबाटै वारिसनामामार्पmत अहिलेको चुनावमा उतारेको छ। त्यस्तै रौतहट १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बबन सिंह पनि २०६३ सालमा भएको गौर हत्याकाण्डका फरार अभियुक्त हुन्। त्यसै गरी २०६४ सालको निर्वाचनमा बुथ क्याप्चर गर्न २३ जना सर्वसाधारणको ज्यान जाने गरी भएको बम विष्फोट–काण्डमा सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका अफताब आलमलाई नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेशसभाको उम्मेदवार बनाएको छ।

यसपटकको चुनावमा आपराधिक छविका व्यक्तिहरूलाई संरक्षण दिँदै चुनावी मैदानमा उतार्ने काममा नेपाली कांगे्रसले अरु पार्टीहरूलाई उछिनेको देखिन्छ। नेपाली कांग्रेसले सुनसरी २ का लागि सिफारिश गरी प्रदेशसभा सदस्यमा उतारेका हेमकर्ण पौडेल पनि अपहरणको आरोपमा ६ महिना जेल सजायँ भोगिसकेका व्यक्ति हुन्। कर्तव्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका धनुषाका सञ्जय शाह भने प्रदेश नम्बर २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधीसँग टक्कर लिँदै चुनावी मैदानमा उत्रिसकेका छन्।

त्यसो त अदालतबाट अपराधी साबित नभएसम्म कसैमाथि आरोप लागेकै भरमा कोही अपराधी हुने होइनन्। तैपनि चुनावमा उठ्ने व्यक्ति सकेसम्म निष्कलंक, असल चरित्र भएका इमानदार व्यक्ति हुनुपर्ने सर्वमान्य सिद्धान्त नै हो। त्यसमा पनि राजनीति गर्ने व्यक्ति त झन् स्वच्छ हुनै पर्छ। तर, हाम्रा राजनीतिक पार्टीहरूलाई आपूmले गरेका विगतका काण्डहरू जस्तो विमान अपहरण गर्ने, खुकुरी नचाउने, टाउको काट्ने पृष्ठभूमिबाट आएका कारण आफ्नो पुरानो छवि मेटिने डरले स्वच्छ छविका व्यक्तिभन्दा आपराधिक छवि भएकै व्यक्तिहरू नै प्रिय लागेका होलान्।

यस्ता नेताहरूको पार्टीले नैतिकवान् र राष्ट्रवादी छविका मरिचमान सिं र कीर्तिनिधि विष्टलाई सम्मान गर्छन् भनी सोच्नु हाम्रै मूर्खता हुनेछ।
चुनावको मुखसम्म आइपुग्दा आपूmलाई लोकतान्त्रिक भन्न रुचाउने पार्टीहरूले वामपन्थी विचारधाराका पार्टीहरूलाई हत्या–हिंसा रुचाउने अवसरवादी भनी आरोप लगाइरहेका छन्। स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा कम्युनिस्ट शासन आएपछि डर र त्रासको शासन चल्ने बताइसक्नुभएको छ। त्यसै गरी वामपन्थी भनिएका पार्टीहरूले लोकतान्त्रिक पार्टी भनिएकाहरूलाई सामन्ती, भ्रष्टाचारी, दलाल भनी आरोप लगाइरहेको अवस्था छ। हिजो राजनीतिक स्वार्थका लागि एकैठाउँमा बस्दा सर्पको खुट्टा सर्पले मात्र देख्छ भनेझैँ एक–अर्कालाई राम्ररी चिनिसकेकैले यस्तो आरोप लगाउन सजिलो भएको पनि होला। स्वार्थ मिल्दा एकले अर्कोलाई साधु देख्ने, नमिल्दा एकले अर्कोलाई अपराधी देख्ने राजनीतिक पार्टीहरूको चरित्र साँच्चिकै घिनलाग्दो छ। आजभन्दा २ सय वर्षअगाडि एकजना अंग्रेज विद्वान् स्यामुयल जोन्सनले ‘राजनीति नीच व्यक्तिहरूको अन्तिम आश्रय स्थल हो’ भनेको कुरा पढेको थिएँ। नेपालमा भइरहेको राजनीतिले स्यामुयलको भनाइलाई थप पुष्टि गरिदिएको छ।

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: