चराहरुको सम्मेलनः सर्वकालिक कथा


भान्टा खूबै मन पराउने युवकले धेरै जोडबलपछि त्यसकै तरकारी खान पाउँछ । तर, खाँदै गर्दा उसको सानो छोराको शिर काटिन्छ । ‘मेरो मन पर्ने भान्टाको तरकारी खाइरहेकै वेला किन छोराको टाउको छिनालियो ? केही रहस्य हुनुपर्छ’, ऊ सोच्न थाल्छ ।

त्यसैको खोजीमा ऊ घरबार छाडी निस्कन्छ । मरुभूमिमा वर्षौं तपस्या गर्छ । तैपनि रहस्य पत्ता लाग्दैन । आफ्नो बेहाल सुनाएपछि चराहरू जिस्क्याउँदै भन्छन्, “कसरी पत्ता लागोस् ! तिमीलाई प्रश्न नै थाहा छैन ।”

यस्तै काव्यात्मक अभिव्यक्तिले चकित पार्ने नाटक चराहरूको सम्मेलन बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा २० असोजदेखि मञ्चन भइरहेको छ । अत्तर अफ निसापुरका नामले चर्चित पर्सियन कवि फरीद उद–दीन अत्तरले चराहरूलाई बिम्ब बनाएर लामो कविता लेखेका थिए, मन्तिक उत्–तयर, जुन सन् ११७७ मा प्रकाशित भएको थियो ।

कवितामा संसारभरका चरा भेला हुन्छन्, जसको उद्देश्य अव्यवस्था, बेथिति हटाउँदै सुशासन स्थापना गर्ने हुन्छ । त्यसका लागि चराहरूले एक नायक (राजा) आवश्यकताबोध गर्छन् । र, राजाको खोजी गर्छन् । चराहरूमध्येकै फाप्रे चराले त्यसका लागि चराहरूको राजा सिमोर्घलाई भेट्नुपर्ने र उनी काप भन्ने प्रदेशमा रहेको बताउँछ । सिमोर्घ पर्सियन पौराणिक कथामा उल्लेख गरिने पौराणिक चरा हो । सिमोर्घ भेट्न चराहरूले गरेको यात्रालाई काव्यमा उतारिएको छ ।

निसारको यो महाकाव्यलाई सन् १९७९ मा अमेरिकी रङ्गकर्मी तथा चलचित्र निर्देशक पिटर ब्रुक र फ्रान्सेली उपन्यासकार एवं चलचित्र निर्देशक ज्यँ–क्लोद कार्‍येरले नाट्यरुपान्तर गरेका थिए– ‘द कन्फरेन्स अफ द बर्डस्’ । संसारभर चर्चित यो नाटक अहिले पनि प्राथमिकताका साथ मञ्चन हुँदै आएको छ ।

‘मन्तिक उत्–तयर’ महाकाव्य ८४० वर्षपछि पर्सिया (हालको इरान) बाट काठमाडौं आइपुगेको छ, चराहरूको सम्मेलन नाटकका रुपमा । पुष्पराज आचार्यले नेपालीमा अनुवाद गरेको ‘द कन्फरेन्स अफ द बर्डस्’ लाई दिया मास्केले निर्देशन गरेकी छन् । अभिनय, कोरियोग्राफी तथा भेषभूषा परिकल्पनालगायत सिर्जनात्मक कर्ममा एक दशकदेखि क्रियाशील मास्केको यो पहिलो नाट्य निर्देशन हो ।
कविताबाट अनूदित नाटकमा रहेको काव्यात्मक प्रस्तुतिले दर्शकलाई मोहित पार्छ । विदेशी नाटक भाषान्तर गरेर मञ्चन गर्दा हुने अप्ठ्यारो भनेकै परिवेश, पात्र र तिनको सान्दर्भिकतालाई स्थानीयतासँग जोड्न सक्नु हो । तर, नाटक त्यसमा सफल छ ।

कलाकारले सक्दो मिहिनेत गरेका छन् । उनीहरूको हाउभाउले चराकै झल्को दिन्छ । यो चरा यो हो भनेर ठम्याउन गाह्रो हुँदैन । अझ सुगाले दोहोर्‍याउने अन्य चराहरूको बोली उनीहरूले नबोल्दै अनुमान गरेरै दर्शक हाँस्न तम्सिहाल्छन् ।

रोमाञ्चक र अद्भुत चराको यात्रामा भेटिने थरीथरीका पात्र र परिवेशसँग दर्शक स्वयंले यात्रा गरिरहेको अनुभूत गर्न पुग्छन् । चराहरूको यात्राको घटनाक्रमले दर्शकलाई साँच्चै कि कल्पना गरिएका हुन् भन्ने मनोविज्ञानको दोसाँधमा उभ्याउँछन् । उनीहरूको यात्राका क्रममा तय गर्नेे सात उपत्यकाको वर्णन घरी पौराणिक कथाका दृश्य जस्ता लाग्छन्, घरी यथार्थको नजिक पुर्‍याउँछन् । यात्राका क्रममा दर्शक अलमलिंदा संगीतले जोड्न सघाउँछ । प्रकाश, भेषभूषा र मञ्च साजसज्जाले कलात्मकता थप्छ ।

नाटक चराहरूलाई बिम्ब बनाएको मान्छेकै कथा हो, उवेलाको पर्सियन समाजको प्रतिबिम्ब हो । विडम्बना, अहिले पनि मानिसको मनलाई यसले छुन्छ, यसको अर्थ समाजका आधारभूत समस्या जस्ताका तस्तै छन् भन्ने नै हो । त्यसमाथि पनि समस्याको संहारक खोजिरहेको नेपाली समाजको चरित्रका अघि नाटक ठ्याक्कै मिल्छ ।

चराहरू लामो कष्टकर यात्रापछि काप प्रदेशमा त पुग्छन् तर आफ्ना समस्यालाई चुट्कीमा सुल्झाइदिने सिमोर्र्घ भेट्टाउँदैनन् । त्यहाँ पुगेपछि उनीहरूलाई थाहा हुन्छ, सिमोर्घ त उनीहरू स्वयं रहेछन् । जसरी समस्या हामीभित्रैबाट जन्मन्छ, समाधान पनि हामीसँगै हुन्छ, नाटकको सार यही हो । एक्टर्स स्टुडियोको प्रस्तुति रहेको यो नाटक १ कात्तिकसम्म हेर्न सकिनेछ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: