प्रशारणलाइन नहुँदा २७० मेगावाट रोकिने


काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा चार सय ३२ मेगावाट थप विद्युत् राष्ट्रिय प्रशारणमा जोड्ने लक्ष्य लिएको छ । तर, प्रशारणलाइन निर्माण समयमै सम्पन्न नहुँदा यसमध्ये झन्डै आधा मात्रै विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडिने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, दुई सय ७० मेगावाट जलविद्युत् उत्पादन भए पनि यीनमा प्रशारणलाइनको समस्या हुने देखिएको छ ।

प्राधिकरणले ऊर्जा मन्त्रालयमा पेश गरेको विवरणअनुसार चालू आवको अन्त्यसम्ममा ३३ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइ चार सय ३२ मेगावाट बराबर उत्पादन हुनेछ । तर, यसमध्ये १२ आयोजनामा प्रशारण लाइनको समस्या हुनेछ ।

चालू आव सुरु भएपछि ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, २५ मेगावाटको माथिल्लो मादी, छ मेगावाटको दरांैदी ए, दुई मेगावाटको झ्याँडी खोला, ४.३६ मेगावाटको टुंगुन ठोस्ने र दुई मेगावाटको खानीखोला आयोजनाको निर्माण सम्पन्न भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।  उनका अनुसार, मादीको आधा बिजुली उत्पादन सुरु भइसकेको छ ।

प्राधिकरणले पेश गरेको विवरणमा टुंगुन ठोस्ने जलविद्युत् आयोजनाले अहिले पनि प्रशारण लाइनको समस्या बेहोरिरहेको छ । आगामी वैशाखसम्ममा उत्पादन गरिसक्ने ३.७५ मेगावाटको द्वारीखोला, १४.९ मेगावाटको हेवाखोला ‘ए’ र १४ मेगावाटको थापाखोला जलविद्युत् आयोजनामा प्रशारणलाइनको समस्या छ ।

असारसम्म निर्माण हुने आयोजनामध्ये २० मेगावाटको तल्लो मादी, ४० मेगावाटको खानीखोला ‘ए’, २७ मेगावाटको दोर्दीखोला, ४३ मेगावाटको साञ्जेन, १५ मेगावाटको माथिल्लो साञ्जेन, ३० मेगावाटको खानीखोला, १५ मेगावाटको मध्यमोदी, २५ मेगावाटको काबेली ‘बी वान्’ र २२ मेगावाटको तल्लो हेवा खोला जलविद्युत् आयोजनामा प्रशारणलाइनको समस्या रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, पाँच मेगावाटको फावा खोलामा व्यवस्थापनको समस्या र २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनामा बाढीको समस्या रहेको प्राधिकरणले जनाएको छ । विद्युत् उत्पादन गर्ने लक्ष्य धेरै भए पनि प्रशारणलाइनको समस्या देखिएको ऊर्जा मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थ बताउँछन् । “उत्पादन गर्ने लक्ष्य छ, त्यो अनुमानित हो, प्रशारणलाइनको समस्या मुख्य देखिएको छ,” उनी भन्छन्, “प्रशारणलाइनको समस्या पनि क्रमशः समाधान हुँदैछ ।”

प्राधिकरणका अनुसार, चालू वर्षभित्र प्राधिकरणद्वारा निर्माणाधीन ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै, छ मेगावाटको माथिल्लो मैलुङ ‘ए’, १२ मेगावाटको माथिल्लो खिम्ती, आठ मेगावाटको जोगमाई, सात मेगावाटको मोलुङखोला लगायतका आयोजना निर्माण हुने प्राधिकरणले ऊर्जा मन्त्रालयले पेश गरेको विवरणमा उल्लेख छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...