बजारमा बढ्यो चहलपहल


काठमाडौं । बजारमा दसैंको किनमेल गर्नेहरूको भिड बढिसकेको छ । दसैंको मुखमा व्यवयसायीहरूले दोब्बर मूल्यमा सामान बिक्री गर्ने भएकाले दसैं सुरु हुन महिना दिन बाँकी हुँदा नै बजारमा नयाँ सामानको खरिद गर्नेको भीडभाडले राजधानीका सपिङ मल तथा बजारमा मानिसको चहलपहल बढेको छ ।

महँगीले आकाश छोइरहँदा नयाँ लुगा फेर्न चाडबाड कुर्ने मानिस धेरै छन् । चाडवाडको समयमा सबैको मन उमंगमय हुने तथा छुटका अफरहरू बढी आउने हुनाले बजारमा भिडभाड बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

दसैं भन्नेबित्तिकै नयाँ कपडा लगाउने, मिठा परिकारहरू बनाएर खाने, आफन्तहरूसँग भेटघाट गर्ने देखि मान्यजनबाट टिका र आशिर्वाद थापेर मनाइने गरिन्छ । परम्परादेखि नै यही ट्रेण्डमा मनाइँदै आइएको दसैंलाई विशेष बनाउन बजारमा चाडवाडको समयमा पसलैपिच्छे छुटैछुटका अफर लेखेको देख्न पाइन्छ । जसले गर्दा सर्ट, प्यान्ट, कुर्तासुरुवाल, साडी, लेहेंगा, कुर्ता, टी–सर्ट लगायत खरिद गर्ने मानिसहरू बढेका छन् ।

चाडवाडको समयमा लगाउने लत्ताकपडामात्र किन्ने नभई घडी, मोबाइल, साउण्ड बक्स, झिलिमिलि बत्तीलगायतका नयाँ प्रविधिका सामान किन्नेको भिडभाड देख्न सकिन्छ । किनमेलका लागि सिटि सेन्टरको एक फेन्सी पाइन्ट, टिसर्ट तथा आउटर छान्दै गरेकी बानेश्वरकी रुपा खनाल दसैंकै लागि सपिङ गर्न आएको बताइन् । “दसैंको मुखमा किनमेल गर्दा निकै महँगोमा परिन्छ ।

यति बेला किन्दा बार्गेनिङ पनि गर्न सकिने र बजार केही खुल्ला पनि हुने भएकाले म त दसैंको किनमेल गर्न आएको हुँ,” उनले भनिन् । अघिपछि जति नै नयाँ कपडा लगाए पनि दसैंंको समयमा पुराना कपडामा मन नजाने उनको अनुभव छ ।

हरेक व्यापारीको लागि जुनसुकै चाडपर्व पनि राम्रो आम्दानीको श्रोत हो । यो समयमा व्यापारीहरू कसरी ग्राहक तान्न सकिन्छ भनेर योजना बनाइरहेका हुन्छन् । सोहि योजनामध्ये दसैं अफरले अहिले बजारमा भिड जमाएको छ ।

आफ्ना छोराछोरी तथा पत्नीका साथ विशालबजारमा सपिङका लागि आएका कालिमाटीका रत्नमान शाक्य छुट र अफरले किनमेललाई सहज बनाउने गरेको बताउँछन् । अन्य समयको तुलनामा दसैंमा सपिङमा धेरै पैसा जाने हुँदा यो बेला दिइने छुटको विशेष महत्व हुने उनको अनुभव छ ।

“पछि झन् भिडभाड बढ्ने भएकाले परिवारका लागि अहिले नै दसैंको किनमेल गर्न आएका छौं,” शाक्यले भने, “दसैं–तिहारलाई लक्षित गरी शोरूममा समेत ३० देखि ५० प्रतिशतसम्म छुट अफर राखिएको छ ।”

बजारमा जुत्ता, चप्पलदेखि लिएर पाइन्ट, टिसर्ट, ज्याकेट, कोटलगायत सामानमा विभिन्न किसिमका छुटका अफर ल्याएको व्यवसायी बताउँछन् । पसलैपिच्छे छुटका प्लेकार्ड लेखेको देख्न पाइन्छ । जसले गर्दा बटोमा हिँड्ने जो कोहीलाई पनि लोभ्याउने खरिदकर्ताहरूको बुझाइ छ ।

तर व्यवसायी भने यस्ता पर्वलाई सामान बिक्री गर्ने महापर्वको रूपमा लिने गरेको समेत पाइन्छ । बजारमा सामान हेरी दिइने १० देखि ५० प्रतिशतसम्मका छुटले पुराना स्टकका सामान समेत बिक्री गर्न सहज हुने व्यवसायीहरू स्विकार्छन् ।

यो पालिको चाडपर्वलाई विशेष गरेर पश्चिमी शैलीका साथै कोरियन संस्कृतिका पहिरनहरू बढी प्रयोग हुने गरेको मैतिदेवीमा सुनिता फेन्सी पसलका सञ्चालक भुवन केसी बताउँछन् ।

प्रायः गरेर कोरियन, चाइनिज स्टाइलका पाइन्ट, टिसर्ट बेच्दै आएका उनले अहिलेका युवा पिँढीले तन्किने खालका पाइन्ट, सर्ट तथा टिसर्टहरू प्रयोग गर्ने गरेको बताए । “चाडपर्वको समयमा अघिपछिभन्दा दोब्बर बिक्री भएको छ,” केसीले भने, “पहिले दैनिक ५/७ हजारको बिक्री भएकोमा हाल २०/२५ हजार हुन्छ ।”

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...