वीरगञ्जमा सदभाव बढाउँदै स्थानीय तहको चुनाव



वीरगञ्ज । बिहानैदेखि बेलुकासम्म उम्मेदवार र समर्थकलाई वीरगञ्जको घर दैलोमा भोट माग्दै हिँड्न भ्याई नभ्याई छ । चुनावमा भोट चाहिने भएपछि वीरगञ्जमा सामाजिक सदभाव पनि बढेको छ ।

हिजो आन्दोलनको बेलामा सामुदायिक भावनामा आएको दरार पुरिएको अनुभव गर्न थालिएको छ । भाँचिएका मनहरु जेडिन थालेका छन् । मनमा रहेको अज्ञात भय हट्न थालेको छ । सबै समुदायका मान्छेमा उत्साह र उमंग छ । आफ्ना प्रतिनिधि चुनिने भएकोले नागरिकमा सुरक्षाको अनुभूति बढेको छ । हिजो आन्दोलनका बेलामा देखिएको सामुदायिक तिक्तता आज छैन । मधेस केन्द्रीत दलहरुलेसमेत पहाडी समुदायका ब्यक्तिलाई उम्मेदवार बनाएका छन् । भोट माग्न के पहाडी के मधेसी सबै सँगै छन् । मधेस केन्द्रीत दलबाट पहाडी समुदायका उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि यो भोट एकै ठाउँमा जाला भन्ने चिन्ता पनि कुनै उम्मेदवारलाई रहेन ।

राष्ट्रिय जनता पार्टीले मेयरमा पहाडी समुदायका राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ । मुलधारका राजनीतिक पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उपमेयरमा पहाडी समुदायका महिलाहरुलाई अघि सारेका छन् । नेपाली कांग्रेसले शान्ति कार्की, एमालले प्राध्यापन पेशामा संलग्न सोफिया आचार्य र माओवादी केन्द्रले दुर्गा क्षेत्रीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

संघीय समाजवादी फोरमले वीरगञ्ज महानगरको वडा नं ५ कुमारबन्धु रुपाखेतीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । वडा नं ४ मा दिवाकरकृष्ण मानन्धरलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । । राजपाले वडा नं १० मा कपिल कुमार पोख्रेल र वडा नं ८ मा राजेन्द्र श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । राजपाले वडा नं ४ मा बिनोदकृष्ण मानन्धर, ५ मा शंकर क्षेत्री, ९ मा सुरेन्द्र बहादुर हाडा र वडा नं १७ मा संजीव क्षेत्रीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

भोट माग्न जनताको घरदैलोमा जाँदा पहाडी, मधेसी, मुस्लिम सबै भाष भाषीका मान्छेहरु आउँदा आफूहरुलाई पनि रमाइलो लाग्ने गरेको बताउँछन् वीरगञ्ज महानगरपालिका वडा नं १४ कि बिपना बख्रेल । ‘मधेसी पहाडी भनेर सामाजिक तिक्तता बढाउने दलका नेता कार्यकर्ता आज त्यो कुरा बिर्सिएर हिँड्दा राम्रो लागेको छ र समाज मेरै हो भन्ने मन भित्रैबाट आउँदो रहेछ’ बख्रेलले भन्नु भयो ।

आन्दोलनका बेला आँगन जोडिएका मधेसी र पहाडीको बिचमा संशयका निगाहले हेर्ने चलन थियो । सामाजिक एकतामा आएको यस्तो दरारका कारण कतिपयले आफ्नो थाँतथलो छोडेर बसाइँ सर्नु पर्यो । संबिधान हाम्रो होइन यो पहाडीहरुको हो अझ खसहरुको हो भन्ने मधेशकेन्द्रीत दल अहिले राजनीतिक मुद्दा भन्दा विकास र समृद्धिका मुद्दा बोकेर नागरिकको बिचमा गइरहेका छन् ।

विकास र समृद्धिका मुद्दाकै कारण चुनावको माहोल शान्तिपूर्ण र उत्साहजनक भएको छ । ‘नागरिकको तहमा समाजमै ध्रुवीकरण हुने गरि एकले अर्कोलाई हेप्ने र होच्याउने खालको प्रवृतिले अर्थ राखेको देखिँदैन’ वीरगञ्जका ब्यवसायी नवनीति अग्रवालले भन्नुभयो । राजनीतिक रुपमा कार्यकर्ता र नेता भएका ब्यक्तिहरुले आफ्नो स्वार्थका निम्ति समाजमा विद्वेषको बिष छर्ने काम गर्ने गरेको भए पनि त्यो लामो समय नरहेको उहाँको भनाई छ । हिजो जस्तो थियो आज त्यो छैन । निर्वाचन सकिएपछि पनि अहिले एकाकार भएर हिँडेकाहरु आफ्नो राजनीतिक स्वार्थमा नरुमल्लीन र समाजमा तिक्तता बढाउन लाग्न नहुने राजनीतिकर्मीलाई उहाँको सुझाव छ ।

सामाजिक संरचनामा रहेको सामुदायिक फरकपनका कारण साँच्चै नै हेपिएको थिचिएको अनुभव गरेका मधेसी दलमा रहेका युवाहरु पनि अब मधेसी पहाडी गरेर बस्ने बेला नरहेको बताउन थालेका छन् । ‘के को पहाडी र मधेसी ? अब सबै एक हो । विवाद गरेर फरक फरक हौँ भनेर बस्ने बेला छैन’ संघीय समाजवादी फोरमका युवा नेता तवरेज अहमदले भन्नुभयो ।

चुनाव भएकोमा आफूखुशी रहेको बताउनुहुन्छ सहप्राध्यापक विरेन्द्र साह । मधेसका नागरिकको पीडा मत मार्फत अभिब्यक्त हुने बेला आएको छ । चुनावले समाजमा रहेको बिभेदको अन्त्य गरेर समाजलाई जोड्ने र खास गरेर मधेसी पहाडीबिचको तिक्ततालाई कम गर्ने उहाँको बुझाई छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...