अभिनेत्री वर्षाले ‘मेरो पैसा खोई’को लागि ५ किलो तौल घटाउँदै


काठमाडौं । अभिनेत्री वर्षा राउत यतिबेला बलिउड फिल्म निर्देशक विवेक शर्माको निर्देशनमा बन्न लागेको सिनेमा ‘मेरो पैसा खोई’को तयारीमा जुटेकी छिन् ।

सिनेमा छक्का पञ्जामा वर्षाको अभिनय मन पराएर निर्देशक विवेक शर्माले उनलाई ‘मेरो पैसा खोई’को मुख्य अभिनेत्रीको रुपमा छनौट गरेका थिए । विकास आचार्यको सिनेमा ‘नाई नभन्नु ल ४’ बाट ब्रेक लिएकी वर्षाले लगातार तीनवटा सफल सिनेमाहरुमा काम गरिन् । उनले काम गरेको सिनेमा छक्का पञ्जाले सय दिन मनाईसकेको छ भने जात्रा शनिबार ५१ औँ दिन मनाउँदै छ ।

मेरो पैसा खोईमा तपाईँ कस्तो भूमिकामा हुनुहुन्छ भनेर सोध्दा उनले भनिन्, “म एउटा गाउँको केटीको भूमिकामा छु । अरु चाहि मलाई खासै थाहा छैन । तर म त्यो भूमिकाका लागि सक्दो मेहनत गरिरहेकी छु । अहिले तौल घटाउने प्रयासमा छु । पाँच किलो जति तौल घटाउनु पर्ने कुरा छ । अब हेरौँ एक महिनामा कति घटाउन सकिन्छ ।”

तौल कम गर्नका लागि ५७ किलोकी बर्षा अहिले खानाबाट टाढा बस्ने गरेकी छिन् । किनकी उनलाई खाना देख्यो कि खान मन लागिहाल्छ ।

सिनेमामा वर्षाले निकै मोटो रकम लिईन् भन्ने कुरा छ नी कति लिनु भयो ? भनेर सोध्दा, “ मैले पहिलेका सिनेमा भन्दा धेरै नै मागेको थिएँ । उहाँहरुले पनि केही नभनी दिनु भयो । म खुशी छु । आफूलाई एकदमै भाग्यमानी ठान्छु । अब मोटो रकममा कति छ त्यो त अहिले नै भन्न मिल्दैन”, उनले भनिन् ।

बलिउड सिनेमा भूतनाथ रिटन्र्स निर्देशन गरिसकेका बलिउड निर्देशक विवेक शर्माले ‘मेरो पैसा खोई’ निर्देशन गर्दैछन् । बलिउड फिल्म निर्देशनको अनुभव संगालेका निर्देशकसँग काम गर्न पाउँदा केही सिक्न पाईने आशा वर्षालाई लागेको छ । “नेपाली फिल्म उद्योग भन्दा बलिउड फिल्म उद्योग बढी फस्टाएको छ । त्यसकारण पक्कै पनि उहाँले केही राम्रो गर्नुहुन्छ । जसबाट म केही सिक्न पाउँछु भन्ने आश लागेको छ”, वर्षाले भनिन् ।सिनेमा ‘मेरो पैसा खोई’ माघको दोस्रो सातादेखि फ्लोरमा जाँदैछ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: