काठमाडौं-नौबिसे सुरुङ मार्ग ६ वर्षभित्रै


काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्म २० अर्ब रुपैयाँमा सुरुङ मार्ग निर्माण हुने भएको छ । आगामी ६ वर्ष भित्र सुरुङ मार्ग निर्माण सम्पन्न हुनेछ । दुई दशमलव २५ किलोमिटरको बाटोसहितको दुई दशमलव ३५ किलोमिटरको सुरुङ मार्ग बनाउन नेपाल र जापानबीच बिहीबार ऋाण सम्झौता भएको छ ।
यसका लागि जापान सहयोग नियोगले १६ अर्ब ६३ करोड जापानी येन (१५ अर्ब ४० करोड रुपैयाँ) सहुलियत ऋण प्रदान गरेको छ । सुरुङ मार्गमा नेपाल सरकारले चार अर्ब ३७ करोड रुपैयाँ लगानी गर्नेछ ।
अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा ऋण सम्झौता भएको हो । सम्झौताअनुसार आगामी ३० वर्ष भित्रमा ऋण चुक्ता गर्नुपर्नेछ ।
जापानी प्रविधिबाट बन्ने यो सुरुङ मार्ग जापानले नै बनाउनेछ । मन्त्रालयका सचिव डा.शान्तराज सुवेदीका अनुसार जापान सरकारले ०.०१ प्रतिशत ब्याजमा ऋण दिने गरी सम्झौता भएको छ । सुरुङ मार्ग प्रस्थान र अन्तिममा एक/एक किलोमिटर सडकसहितको लागत करिब २० अर्ब रुपैयाँ पर्ने भएको छ ।
सुरुङ मार्गको विस्तृत परियोजना अध्ययनसहितको प्राविधिक काम सन् २०१९ सम्म पूरा हुनेछ । सन् २०१९ बाट सुरुङ मार्ग खन्न सुरु गर्ने अर्थात भौतिक काम हुने र सन् २०२२ को डिसेम्बरमा सकिने गरी सम्झौता भएको छ ।
सम्झौताअनुसार सुरुङ मार्ग निर्माणको पहिलो पाँच वर्ष ऋणको ब्याज तिर्नु पर्दैन । सन् २०२२ को डिसेम्बरबाट सुरुङ मार्ग सञ्चालनमा आउने भए पनि सन् २०२७ को जुनदेखि सन् २०५६ को डिसेम्बरसम्ममा ऋणको ब्याजसहितको किस्ता तिर्नुपर्ने शर्त छ । शर्तअनुसार ३० वर्षसम्म वार्षिक दुईपटक तिर्नुपर्ने जापानी ऋणको हरेक किस्ता २७ करोड २७ लाख २१ हजार जापानी येन हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
सुरुङ मार्गका लागि जापानले १६ अर्ब ६३ करोड जापानी येन (१५ अर्ब ४० करोड रुपैयाँ) सहुलियत ऋण प्रदान गरेको छ । नेपाल सरकारले चार अर्ब ३७ करोड रुपैयाँ लगानी गर्नेछ ।
यो सुरुङ मार्ग नेपालको सडक निर्माणका लागि पहिलो भएको अर्थ मन्त्रालयका सचिव सुवेदीले बताए । उनले नेपालको सडक यातायातको सहज प्रयोग गर्न र सेवा सुविधा सुधारका लागि जापानी सहयोग निकै प्रभावकारी हुने बताए । नेपालका लागि जापानी राजदूत ओगावाले सुरुङ परियोजनाले नेपाल र जापानबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताए ।
परियोजना कार्यान्वयनमा सम्बन्धित सबै निकायको सहयोग आवश्यक पर्ने ओगावाको भनाइ छ । सुरुङ मार्ग निर्माणपछि भिरालो तथा धुमाउरो सडकको प्रयोगले हुने खतरा पूर्णअवस्था रूपमा हट्नेछ भने ट्राफिक जामको समस्या पनि समाधान हुनेछ । सुरुङ मार्ग भित्रको सडक दुई लेनको हुनेछ । एउटा लेन अतिरिक्त रहनेछ । सुरुङ मार्ग निर्माण पश्चात सुरक्षित यात्रा हुनुका साथै काठमाडौंबाट नौबिसेसम्मको यात्राको समय पनि छोटो हुनेछ ।
सुरुङ मार्ग प्रवेश शुल्क २५ रुपैयाँ
काठमाडौंको बलम्बुनजिक बस्नेतछापबाट नौबिसे नजिक सिस्नेखोला निस्कने यो सुरुङकमार्ग प्रयोग गरेवापत २५ रुपैयाँ शुल्क तोकिने भएको छ । सुरुङ मार्ग र सडकमार्ग अलग हुने भएकोले बलम्बुबाट सुरुङ मार्ग जान एक किलोमिटरको अलग्गै बाटो हुनेछ भने सिस्नोखोलाबाट पुनः नौबिसेखण्डको सडकमा जानुपर्छ । सडक विभागका वैदेशिक महाशाखा प्रमुख सन्जयकुमार श्रेष्ठका अनुसार सुरक्षा चुनौतीका कारण सुरुङ मार्गबाट मोटरसाइकल भने गुडाउन पाइदैन ।
मोटरसाइकल सुरुङ मार्गको प्रवेश विन्दुबाटै सिस्नेखोला निस्कने बाटोसम्म गाडीमा राखेर लैजानुपर्छ । एउटा गाडीमा ५/७ वटा मोटरसाइकल एकैपटकमा लैजाने गरी सडक विभागले नै व्यवस्था मिलाउनेछ । मोटरसाइकल बोकेर लगिदिएवापत वा सवारीसाधन प्रवेश गरेवापत जम्मा २५ रुपौयँमात्रै शुल्क लिने व्यवस्था हुने उनको भनाइ छ । पुराना गाडी, विष्फोटक पदार्थ बोकेका गाडी तथा अन्य सुरक्षा चुनौतीका सवारी पनि सुरुङ मार्ग प्रवेश गर्न नपाउने व्यवस्था हुने श्रेष्ठले जानकारी दिए ।
प्रतिघन्टा ६० किलोमिटरको गतिमा सवारी हाँक्न मिल्ने गरी सुरुङ मार्ग बनाइने हुनाले तीन मिनेट भित्रै सुरुङ मार्ग पार गर्न सकिन्छ । सडकमार्गबाट जाँदाको तुलनामा २० मिनेट यात्रा छोटो हुने उनको भनाइ छ । प्रस्तावित सुरुङ मार्ग निर्माणमा काठमाडौंबाट प्रवेश गरी अन्तिम विन्दु पार गरेपछि धादिङको सिस्नेखोलामा नौवटा ठूला र २३ वटा साना सवारीसाधन पाकिङ गर्ने ठाउँ हुनेछ ।
शौचालय, रेस्टुरेन्ट र अन्य पसलसहितको सुविधा सुरुङ मार्ग भित्रै हुनेछ । सुरुङ मार्ग आधुनिक सुविधासम्पन्न हुने उल्लेख छ । यो स्थानमा स्थानीय उत्पादनका सामग्रीदेखि अन्य पूर्वाधार पनि विकास हुनेछ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: