धर्मबुद्धि र पापबुद्धि….


एउटा गाउँमा धर्मबुद्धि र पापबुद्धि नाम भएका दुई साथी बस्थे । उनीहरू पैसा कमाउन विदेश जाने निधो गरे । केही वर्ष विदेशमा बसेर पैसा कमाएपछि उनीहरू घर फर्के । गाउँमा पुग्ने बेलामा पापबुद्धिले धर्मबुद्धिसंग भन्यो, “हामीले कमाएको यो पैसा गाउँमा लग्यौं भने मानिसहरूको आँखा लाग्नसक्छ । हाम्रो रिस गर्नसक्छन् । आफन्तहरूले सापट मागेर दु:ख दिनसक्छन् । यसैले यो पैसा यतै कतै लुकाएर गाउँमा पसौं ।’’ धर्मबुद्धिले पनि पापबुद्धिको कुरा मान्यो । उनीहरूले एउटा रुखको फेदमा खाल्टो खनेर आफूसंग भएको रुपैयाँ पैसा त्यसमा गाडे र घरतिर लागे । केही दिनपछि पापबुद्धि राति गाउँबाट बाहिर पैसा गाडेको ठाउँमा गयो । उसले गाडेको धन खनेर झिक्यो र घर फक्र्याे ।

भोलिपल्ट ऊ धर्मबुद्धिको घरमा गयो र उसलाई पैसाको खाँचो परेकाले गाडेको धन झिक्न जाने कुरा गर्‍यो । दुबै जना पैसा गाडेको ठाउँमा पुग्दा खाल्टोबाट कसैले पैसा झिकिसकेको देखेर पापबुद्धि छाति पिट्दै रुन थाल्यो । उसले त्यो पैसा धर्मबुद्धिले नै चोरेको हुनुपर्छ भन्ने आरोप लगायो । धर्मबुद्धिले आफू निर्दोष भएको कुरा भने पनि पापबुद्धिले मानेन । उसले गाउँको मुखिया कहाँ गएर धर्मबुद्धिले उसको पैसा चोरेको उजुरी गर्‍यो ।

पापबुद्धिले धर्मबुद्धिमाथि चोरको आरोप लगाउँदै भन्यो, ‘‘त्यो पैसा गाडेको ठाउँमा एउटा रुख छ । म त्यही रुखलाई साक्षी राख्न तयार छु । को चोर हो भन्ने कुरा रुखले नै भन्नेछ ।’’ मुखियाले पनि उसको कुरा मान्यो । भोलिपल्ट रुख भएको ठाउँमा गएर रुखसंग सोध्ने निधो गर्‍यो । राती पापबुद्धिले आफ्नो बूढो बाबुलाई रुखको टोड्कोमा लुकेर बस्न र धर्मबुद्धिले नै पैसा चोरेको हो भन्न सिकायो ।

भोलिपल्ट मुखिया, धर्मबुद्धि, पापबुद्धि र गाउँका भलाद्मीहरू पैसा गाडेको ठाउँमा पुगे । मुखियाले रुखको नजिकै गएर गाडेको धन कसले चोरेको हो भनेर रुखसंग सोध्यो । रुखको टोडकोबाट जवाफ आयो–‘गाडेको पैसा धर्मबुद्धिले चोरेको हो ।’

रुखको कुरा सुनेर सबै जना छक्कै परे । उनीहरूले रुख बोलेको कहिल्यै सुनेका थिएनन् । धर्मग्रन्थ पल्टाएर मुखियाले न्याय दिने विचार गरे । उता धर्मबुद्धिको मनमा अर्कै बिचार आयो । उसले रुखको वरिपरि सुकेका घाँसपात र दाउरा थुपार्‍यो र त्यसमा आगो बाल्यो । आगोले पोलेर रुखको फोदबाट पापबुद्धिको बाबु आत्था पोल्यो भन्दै बाहिर निस्क्यो । पापबुद्धिको पाप सबैको अगाडि छर्लंड्ड भयो । मुखियाले पापबुद्धिलाई त्यही रुखको हाँगामा झुण्ड्याएर सजाय दियो ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...