कुलमानले भने : लोडसेडिङ हटाएको सहन नसक्ने तत्व सिस्टम बिगार्न लागिपरेका छन्


काठमाडौँ । काठमाडौँ उपत्यका लोडसेडिङ मुक्त गरिएपछि नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा चुनौती थपिएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले नेविप्रा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनको एकता सम्मेलनलाई आज सम्बोधन गर्दै लोडसेडिङ अन्त्य भएको सहन गर्न नसक्ने केही तत्व सिस्टम बिगार्न लागिपरेको सूचना आफूलाई प्राप्त भएको बताए।

काठमाडौँ उपत्यकामा हटाइएको लोडसेडिङलाई मुलुकभर नै विस्तार गर्ने योजनामा प्राधिकरण लागिपरेको जानकारी दिँदै घिसिङले यसमा नागरिक तहबाट पनि सहयोगको अपेक्षा गरिएको बताए।

साधारण सेयर जारी गर्ने
घाटामा रहेको प्राधिकरण एकाध वर्षमा नाफामा जाने गरी काम सुरु भएको विश्वास दिलाउँदै उनले प्राधिकरण ऐनअनुसार साधारण सेयर जारी गरिने र जनतालाई समेत लगानीका लागि आग्रह गरिने बताए।

प्राधिकरणले नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने व्यवस्था भएकाले त्यसको पनि आवश्यक तयारी गरिने भएकाले नाफामा जाने गरी काम गर्न सबै कर्मचारीलाई आग्रह गरे।

तीन वर्ष पहिले रु २९ अर्ब घाटा सरकारले व्यहोरेको प्राधिकरणको घाटा हाल रु ३५ अर्ब पुगेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत्भार कटौतीमुक्त अभियानलाई प्रभावकारी बनाउन र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरे।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवम् ऊर्जा विभाग प्रमुख लीलामणि पोखरेलले नेपालको समृद्धिको आधार ऊर्जा क्षेत्र भएकाले सरकारले मन लगाएर लगानी गर्नुपर्ने बताए।
कार्यक्रममा प्राधिकरणमा कार्यरत विभिन्न कर्मचारी सङ्घसङ्गठनका प्रतिनिधिले प्राधिकरण सुधारको प्रक्रियामा साथ दिन आफूहरु तयार रहेको बताए। रासस

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...