विधान कुल्चँदै देउवा, आफ्नैबाट अफ्ठेरोमा


काठमाडौं । गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत अपूर्ण नै छ।

१३ औँ महाधिवेशनअघिसम्म स्पष्ट दुई गुटमा विभाजित कांग्रेस अहिले आधा दर्जनभन्दा बढी समूहमा बाँडिएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

पार्टीभित्र रहेका अन्य समूहलाई मात्र होइन, निकटकालाई पनि मिलाउन नसक्दा देउावले नेतृत्व सम्हालेको नौ महिनासम्म सबै निकाय रिक्त छन्। उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनसहित विभाग र अन्य निकाय गठन प्रक्रिया समेत शुरु भएको छैन।

केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीमा भागबण्डा संस्कृति विकास हुँदा गुटबन्दी मौलाएको बताए।

‘मिलिजुली जाऊँ, बाँडीचुँडी खाउँ्क भन्ने राम्रो संंस्कृति होइन,’ घिमिरेले नागरिकसँग भने, ‘पार्टीभित्र र राष्ट्रिय राजनीतिमा पनि समस्या पारेको छ। चुनाव जितेर आएकालाई काम गर्न दिनुपर्छ।’

नेता रामचन्द्र पौडेल निकट एक केन्द्रीय सदस्यले नेतृत्वमा नपुग्दासम्म विधान पालना भएन भन्ने आफैं पुगेपछि अटेर गर्दै अघि बढ्ने प्रवृत्ति नराम्रो भएको बताए। उनले भने, ‘विधानको कुरै भएन, अब पर्खनुको विकल्प छैन।’

सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई अघि बढाउन सभापतिले समय दिनुपरेकाले पदाधिकारी मनोनयनमा विलम्ब भएको देउवा निकट स्रोतको दाबी छ। ‘मंसिरभित्रै विभाग गठन र पदाधिकारी मनोनयन अघि बढाउने भन्ने थियो,’ स्रोतले भन्यो, ‘राष्ट्रिय राजनीतिले एउटा आकार लिनेबित्तिकै यी काम अघि बढ्छन्।’

केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पदाधिकारी नियुक्तिको विषय परिपक्व भइसकेको बताए। उनले नागरिकसँग भने, ‘परिपक्व भएको कुरा जति बेला गरे पनि हुन्छ, सभापतिले गर्दै हुनुहोला।’

पार्टीको महाधिवेशन सम्पन्न भएको नौ महिनामा एक दशकदेखि हुन नसकेको प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन भने सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलको नयाँ नेतृत्व चयन गर्नुबाहेक महाधिवेशनमा वैचारिक बहस भने भएन

सभापति देउवा उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा आफूनिकटकै झन्डै एक दर्जन नेताले आकांक्षा देखाएपछि अप्ठेरोमा परेका छन्। निकटको व्यवस्थापन सहज नभएपछि पदाधिकारी मनोनयनमा विलम्ब भएको स्रोतको दाबी छ। एक उपसभापतिमा विमलेन्द्र निधि, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठको दाबी छ भने नेता कुलबहादुर गुरुङ पनि आकांक्षी छन्। नेता निधिलाई उपसभापति बनाउने पक्षमा रहेका सभापतिले केही समयअघि नेता खड्कालाई निवासमै बोलाएर उपसभापति दिन नसक्ने स्पष्ट पारेको स्रोतको दाबी छ। खड्कानिकट नेतालाई पार्टीको अन्य जिम्मेवारीमा मिलाएर लैजाने आश्वासन सभापतिले दिएको स्रोतले बतायो।

अर्का नेता श्रेष्ठले सभापति देउवा र नेता रामचन्द्र पौडेलपछि पार्टीमा आफू नै सबैभन्दा सिनियर भन्दै उपसभापतिको दाबी गरिरहेका छन्। गुरुङले महाधिवेशनअघि आफूलाई वरिष्ठ नेता बनाउने समझदारी भएको दाबी गर्दैसभापतिले पूर्वप्रतिबद्धता कार्यान्वयनमा नल्याएको गुनासो गरेका छन्।

त्यस्तै, महामन्त्रीमा देउवा पक्षकै ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कामध्येबाट हुनेछन्। सहमहामन्त्री भने पौडेल पक्षलाई दिन सभापति देउवा सकारात्मक छन्। नेपाल तरुण दलको पोखरा महाधिवेशनका क्रममा सभापति देउवाले पदाधिकारीसहित पार्टीका सबै निकायमा पौडेल पक्षलाई समेटेर अघि बढ्ने आश्वासन दिएको स्रोतको दाबी छ। सहमहानत्तीमा पौडेल पक्षबाट दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना र महेश आचार्यको नाम चर्चामा छ।

सभापति देउवा विभाग गठनपछि मात्र पदाधिकारी मनोनयनको पक्षमा छन्। नेपाल तरुण दलको प्रतिज्ञा सभामा देउवाले केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिने जनाउँदै तरुण दलका निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यलाई समेट्ने आश्वासन दिएका थिए।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...