दश प्रतिशत चोरी नियन्त्रण गरी पाँच अर्ब बचत गर्ने योजनामा प्राधिकरण


काठमाडौं । सरकारले योजनाबद्ध रूपमा विद्युत् चुहावट नियन्त्रण गर्नेतर्फ पहल गरे रू. पाँचअर्ब नेपाल विद्युत् प्राधिकरणलाई फाइदा हुने देखिएको छ । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा उपलब्ध विद्युतमध्ये करीब २ सय ४० मेगावाट विद्युत् चोरी तथा प्राविधिक चुहावटका कारण खेर गइरहेको अवस्थामा तत्काल १० प्रतिशतमात्रै चुहावट र चोरी नियन्त्रण गर्न सके सो मूल्य बराबरको रकम बचत गर्न सकिने देखिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चोरी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सकिए प्राधिकरणको आर्थिक अवस्था मजबुत बन्ने र विद्युतको मूल्य वृद्धि गरिराख्नुपर्ने अवस्थाको अन्त्य बताए । प्राधिकरणका अनुसार, १० प्रतिशतको हाराहारीमा विद्युत् चोरी हुने गरेको छ । यस्तै १५ प्रतिशत विद्युत् प्राविधिक रूपमा नै चुहावट हुने गरेको छ ।

‘चोरी नियन्त्रण गर्न सके रू. पाँच अर्ब बराबरको विद्युत् बचत हुने देखिन्छ,’ उनी भन्छन,‘प्राधिकरणका कर्मचारीले प्राविधिक काम गर्ने भएकाले सुरक्षा उपलब्ध गराउने जिम्मा गृह मन्त्रालयले लिए हामी एकाध महीनामा विद्युत् चोरी १० प्रतिशत घटाउन सक्छौँ’, ।

गृह मन्त्रालयले सुरक्षा प्रदान गरे मुलुकभर विद्युतभार कटौतीको अन्त्य गर्न सकिने पनि उनले बताए । विद्युत् चोरी नियन्त्रण तथा बक्यौता उठाउने कामलाई अभियानका रूपमा अगाडि बढाउँदा मात्रै करीब  ५० करोड रूपैयाँ बक्यौता असुल भएको प्राधिकरणले बताएको छ ।

गत असोज ३ गतेबाट शुरु भएको अभियानले सकारात्मक सन्देश दिएको प्राधिकरणको भनाइ छ । तर सरकारी निकायमा नै रहेको बक्यौता भने असुल गर्न सकिएको छैन । सरकारी निकायमा मात्रै रू. तीन अर्ब बढीको बक्यौता रहेको बताइन्छ । रासस

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...