सचिवको गाडी खोसेर राज्यमन्त्री सरर


काठमाडौं । केही दिनअघि, मुख्य सचिव डा. सोमलाल सुवेदीले आफ्नै कार्यकक्षमा मन्त्रालयका सचिवहरूलाई डाकेर बैठक बसाले । सो बैठकमा मुख्य सचिव सुवेदीले सीधै नवनियुक्त कृषि विकास मन्त्रालयका सचिव डा. अन्नपूर्णानन्द दासलाई सोधे– ‘पशुपन्छी विकास सचिवले चढिरहेको गाडी किन खोसिएको हो ? त्यो गाडी खोसेर किन राज्यमन्त्रीलाई दिइयो ? कसले यस्तो गरेका हुन्, तुरुन्त कारबाही गर्नुस् ।’कृषि विकास सचिव दास पनि अलमलमा परे ।

उनलाई यो विषयमा त्यति जानकारी थिएन । केही दिनअघि मात्रै सचिवको पद सम्हालेका दासले यो विषय बुझेकै थिएन । तर, आफूले त्यस विषयमा ‘बुझ्ने’ कुरा मुख्य सचिवसामु राखे । कुरा के रहेछ भने, कृषि विकास राज्यमन्त्री राधिका तामाङले दबाब दिएरमन्त्रालयका प्रशासन महाशाखा प्रमुख काशीराज दाहालले पशुपन्छी विकास सचिव उत्तमकुमार भट्टराई चढिरहेको गाडी खोसेका रहेछन् ।

पशुपन्छी विकास सचिव भट्टराईको गाडी त्यस्तो बेला खोसियो, भट्टराईको पदावधि सकिन तीन दिन मात्रै बाँकी थियो । मंसिर १८ गते अवकाश पाएका भट्टराईको गाडी १५ गते मात्रै खोसिएको थियो । आखिर, भट्टराईले अवकाश पाउन लागेको तीन दिन मात्रै बाँकी हुँदा किन गाडी खोसियो ? भन्ने प्रश्नले अहिले कृषि मन्त्रालयमा गाइँगुइँ हल्ला चलिरहेको छ । खासमा, सचिव भट्टराईले चढिरहेको गाडी कृषिकै गाडी थियो ।

कृषि विकास मन्त्रालयका सचिव हुँदादेखि नै उनले चढेको गाडी पशुपन्छी मन्त्रालयमा सरुवा हुँदा पनि सोही गाडी चढिरहेका थिए । चाँडै नै अवकाश पाउन लागेका हुँदा सचिव भट्टराईलाई नै सो गाडी चढ्न दिइएको थियो । उनले अवकाश पाएपछि मन्त्रालयले फिर्ता ल्याउने गरी उनलाई चढ्न दिइएको थियो । तर, राज्यमन्त्री तामाङलाई के झोंक चलेर हो, सचिवबाट बिदा हुन लागेको तीन दिनअघि नै गाडी खोस्न पुगिन् । सचिवबाट खोसिएको त्यो गाडी अहिले राज्यमन्त्री आफंैले चढेर हिँड्ने गरेकी छन् ।

यसैबीच, कृषिका सहसचिव डा. सुरोज पोखरेलले अहिले बढुवाका लागि तीव्र लबिङ चलाइरहेका छन् । पोखरेल यसअघि नै प्राविधिकका तर्फबाट सचिव बढुवाका लागि सिफारिस भएका थिए । तर, त्यतिबेला वन समूहका विश्वनाथ ओली सचिव भएका थिए । वरिष्ठका आधारमा पोखरेल नै सचिव हुने देखिएको छ ।

सचिवमा बढुवा भएपछि आफू कृषिमा जाने र कृषिमा रहेका सचिव दासलाई पशुपन्छी मन्त्रालयमा पठाउने तयारीमा पनि उनी जुटिरहेको बताइन्छ । यसअघि, दासलाई कृषि सचिव नबनाउन मन्त्री गौरीशंकर चौधरी र मन्त्रालयकै केही सहसचिव लागे पनि अन्ततः दासले नै कृषि सचिवको पद ग्रहण गरेका थिए ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: