अस्तव्यस्त पोखरा


पोखरा । यातायात व्यवसायीको सिन्डिकेट, बढ्दो सवारी चाप र सडकमै पार्किङले पोखराको सवारी व्यवस्थापनलाई भद्रगोल बनाएको छ।

पोखराको न्यूरोडस्थित पद्म नर्सिङ होममा उपचार गरेर ३ मंसीरमा बाहिरिंदै गरेकी तनहुँ, दमौलीकी ६६ वर्षीय देउकली सापकोटालाई ग ६ प ७४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सोही अस्पतालमा भर्ना हुनुपर्‍यो। पोखरामा यस्ता लापरबाहीपूर्ण सवारी दुर्घटना सामान्य बन्न थालेको छ। ठूला दुर्घटना कम भए पनि ठक्कर दिएर घाइते बनाउने घटना बढेको ट्राफिक प्रहरीको रेकर्डले देखाउँछ।

केही समय अघिसम्म पोखरालाई सडक जाम नहुने शहरको रूपमा लिइन्थ्यो। अन्य शहरका तुलनामा पोखराका सडक फराकिला थिए। तर, अब ती पुराना दिन भएका छन्।

वैकल्पिक सडकहरू नभएको यो शहरमा बढेको सवारीको चापले यातायात व्यवस्थालाई अस्तव्यस्त बनाएको छ। त्यसमाथि, सडकमै पार्किङको धन्दा चलाउन दिइएको छ। वर्षेनि बढेको सवारी दुर्घटना, कारबाही र राजश्व संकलन वृद्धि (हे. तथ्यांक) ले ट्राफिक नियम उल्लंघनको अवस्था देखाउँछ।

गत वर्ष नाकाबन्दीका समयमा पनि पोखरामा उल्लेख्य सवारी साधन कारबाहीमा परे। थोरै सवारी चले पनि धेरैलाई कारबाही गर्नुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख इन्स्पेक्टर विश्वराज अधिकारी बताउँछन्।

पोखरामा चालकहरूको अराजकता ट्राफिक प्रहरीलाई चुनौती बनेको बताउँदै उनी भन्छन्, “त्यही कारण कारबाहीसँगै सचेतना अभियान चलाएका छौं।”

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: