युवतीमाथि सामूहिक बलात्कार


काठमाडौं । कक्षा ११ मा अध्ययनरत एक १९ वर्षीया युवतीमाथि तीन जना युवाले शुक्रबार बिहान सामूहिक बलात्कार गरेका छन् ।

सदरमुकाम गुलरियास्थित कोटही मन्दिर नजिक रहर (अरहर) बारीमा ती युवतीलाई जबर्जस्ती मुख थुनेर बलात्कार गरेको प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले बताए । शनिबार नेपाली सेनामा भर्ना हुनका लागि शारीरिक व्यायाम र नियमित दौड गर्दै गरेको अवस्थामा बिहान करिब ६ बजे ती युवती सामूहिक बलात्कारमा परेकी हुन् । दौडने क्रममा उनीहरूले युवतीलाई चक्कु देखाएर रहर बारीमा लगेका थिए ।

‘पहिले एक जनाले बलात्कार गरे, पछि अर्कोलाई सिट्टी बजाएर बोलाए । अरू दुईजना आएर पालैपालो बलात्कार गरे,’ उनले भनिन्, ‘गुहार माग्दा चक्कु निकाल्दै खोपेर मार्छु भन्दै धम्काए ।’ उनले बलात्कृत भएपछि केही समय अचेत अवस्थामा लडेको बताइन् ।

‘६ बजे बिहान सामूहिक बलात्कार हुँदा वरिपरि सुनसान थियो,’ उनले भनिन् । डेरामा पुगेर उनी रुन थालेपछि अभिभावकले सोधखोज गरेपछि घटनाका बारेमा तत्कालै प्रहरीलाई जानकारी गराइएको थियो ।

घटनाका जानकारी पाउनासाथ प्रहरीले अभियोगीको पहिचानका लागि टोली परिचालन गरेको छ । घटनास्थल नजिक ती पीडित युवतीले एक अभियोगीको पहिचान गरेपछि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पालले जनाए । गुलरिया ७ का १९ वर्षीय मनीष गुप्तालाई प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको जनाएको छ ।

शंकास्पद ती युवासँग बयान लिन सुरु गरेको प्रहरीले जनाएको छ । पीडित युवतीले पक्राउ परेका गुप्तालाई देख्नासाथ यसलाई मैले कुट्छु भन्दै आक्रोश पोखिन् । अन्य दुई जनाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । बलात्कृत युवतीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...