मलेसियाविरुद्ध मैदान उत्रँदै नेपाल, वर्षाले खेल ढिला सुरु हुने


काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । वायुमास ओभलमा नेपालले अहिले बिहान मलेसियासँग समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनुपर्ने भए पनि वर्षाका कारण खेल ढिला सुरु हुने भएको छ । एसियाली क्रिकेट काउन्सिलकाअनुसार खेल हुने मैदानमा वर्षा भईरहेको र वर्षा रोकिएपछि मात्र खेल संचालन हुनेछ । वर्षाको कारण नेपाल र मलेसियाबीच खेलको टस समेत भएको छैन ।

एसिया कपको समूह ए मा रहेको नेपाल अन्तिम खेलमा मलेसियाविरुद्ध शानदार जित हात पार्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । लगातार दुई खेलमा पराजित भएको मलेसिया पनि आज पहिलो जितको खोजिमा हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक विनोद दासले मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने बताएका छन् । उनले भने “हाम्रो लक्ष्य भनेको उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्ने हो । हाम्रो लागि भारत र बंगलादेशको खेलले पनि महत्व राख्छ । तर, हामी पहिलो इनिङ्स राम्रो गर्नेछौं । हामी उत्कृष्ट जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छौं । किनकी हामी पनि बलियो टिम हो भन्ने सन्देश दिन चाहन्छौं ।”

एसिया कपको सेमिफाइनल पुग्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब छ । मलेसियालाई भारी अन्तरले पराजित गरेको खण्डमा नेपालको सेमिफाइनल यात्रा बलियो हुनेछ ।

समूह ए मा रहेको नेपाल एक खेलमा जित र एक खेलमा हार बेहोर्दै तेस्रो स्थानमा छ ।

आज अर्को खेलमा बंगलादेशले भारतलाई जितेको खण्डमा र नेपालले मलेसियालाई पराजित गरेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । तर बंगलादेश भारतसँग पराजित भएमा नेपालले मलेसियालाई पराजित गरेको खण्डमा भारत, नेपाल र बंगलादेशको समान ४–४ अंक हुनेछ । त्यसपछि नेटरन रेटको आधरमा शीर्ष दुईमा हुने टिमले सेमिफाइनलको यात्रा तय गर्ने छन् ।

दुबै खेलमा जित हात पारेको बंगलादेश समूहको शीर्ष स्थानमा रहेको छ ।

एक खेलमा जित र एक खेलमा हार बेहोरेको भारत नेपाल भन्दा नेटरन रेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।

कठिन मानिएको समूहमा रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा भारतलाई १९ रनले पराजित गरेर नेपाली युवा टिमले इतिहास रचेको थियो । टेष्ट राष्ट्र भारतलाई नेपालले पहिलो पटक पराजित गरेको हो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: