आर्यनको ‘कायरा’मा साम्राज्ञी अनुवन्धित


काठमाडौं । एक समयका सबैभन्दा सफल र चर्चित नायक आर्यन सिग्देल अहिले आफ्नो खातामा एक हिट फिल्मको नाम लेख्न लालहित छन् । लगातार आफू अभिनीत फिल्म फ्लप हुन थालेपछि ८ वर्षसम्म पानीबाराबार रहेको नायिका रेखा थापासँग सबै दुश्मनी भलेर उनले ‘रुद्रप्रिया’मा काम गरे । तर, फिल्मको बक्स अफिस कलेक्सनले आर्यनलाई फेरि अर्को निराशा थप्यो ।

एकजना दर्शक हलमा आएसम्म फिल्म गरिरहने उद्घोष गरेका आर्यन अहिले आफ्नो पुरानो क्रेज फर्काउने दौडमा छन् । अब आफ्नै होम प्रोडक्शन हाउस ‘आर्यन सिग्देल इन्टरटेन्मेन्ट’बाट निर्माण हुने फिल्ममा मात्र काम गर्ने बताएका आर्यनले नयाँ प्रोजेक्टमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्ने भएका छन् ।

वर्किङ टाइटल ‘कायरा’ राखिएको फिल्ममा आर्यन र साम्राज्ञीले एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् । यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । लक्ष्मणले यसअघि आर्यनसँग फिल्म ‘धुँवा यो नशा’मा काम गरेका थिए । साम्राज्ञीले ‘कायरा’को कथावस्तु निकै मनपराएकी छिन् ।

स्रोतका अनुसार, उनले फिल्मका लागि सम्झौता समेत गरिसकेकी छिन् । केही वर्ष अगाडिसम्म आर्यनले एक फिल्मबाट बुझ्दै आएको महंगो पारिश्रमिक साम्राज्ञीले ‘कायरा’का लागि लिएको बुझिएको छ । तर, निर्माणपक्षले यस विषयमा कुनैपनि जानकारी दिएको छैन । आफ्नो ओरालो लाग्दै गएको स्टारडम जोगाउनकै लागि आर्यनले साम्राज्ञी रोजेको चर्चा छ ।

साम्राज्ञीले आर्यनको यो प्रोजेक्टपछि अर्का चकलेटी नायक प्रदीप खड्कासँग फिल्म ‘भैरवी’मा काम गर्दैछिन् । ‘ड्रिम्स’मा अनमोल केसी, ‘ए मेरो हजुर ‘२ मा सलिनमान बनियाँसँग काम गरिसकेकी साम्राज्ञीको जोडी आर्यनसँग कति हिट होला, यो भने हेर्न बाँकी छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: