स्थानीय तह विकासकाे मुख्य एजेण्डा सहित चुनावी प्रतिष्पर्धामा छु


२०५९ मा जापानको मल्टिपल भिषा त्यागेर नेपालमा नै अवसर र युवाहरुको अधिकारको निम्ति काम गर्ने उद्धेश्यले  विभिन्न सामाजिक राजनीतिक गतिविधिहरुमा संलग्न रहेका युवा पात्र हुन् विष्णुभक्त तिमिल्सिना । उनलाई अमेरिकाबाट समेत २०७२ को बैशाखमा मल्टिपल भिषा नआएको होइन । तर उनले त्यो अवसर पनि त्यागे । अरु युवालाई विदेशमा नजाउ भन्नु भन्दा पनि त्यसलाई आफूले नै कार्यान्वयन गर्ने हो भने मात्र अन्य युवाहरु आफूबाट प्रभावित हुने मान्यता उनले लिएका छन् ।

पारिवारिक प्रतिकुलताबीच राजनीतिमा हाेमिएका विष्णुभक्त तिमिल्सिनाले काठमाडौं क्षेत्र नम्बर ६ (ख)बाट प्रदेशसभाको निम्ति नेपाली काङ्ग्रेसबाट चुनावी  प्रतिष्पर्धामा उत्रिएका छन् ।

उनै तिमिल्सिनासँग हामीले नेपालको राजनीति, विकास, रोजगारी, अहिलेको मुलुकको परिस्थिति लगायतका विविध विषयवस्तुमा रही कुराकानी गरेका थियौं ।

 

यसपटकको निर्वाचनमा कस्ता एजेण्डाहरु लिएर तपाईं चुनावी मैदानमा होमिनुभएको छ ?

विष्णुभक्त तिमिल्सिना, काठमाडाैं क्षेत्र नम्बर ६ (ख), नेपाली काङ्ग्रेस, प्रदेशसभा उम्मेद्वार

अहिलेको निर्वाचनमा हामीले मुख्यतः नेपाली काङ्ग्रेसकै एजेण्डालाई लिएर नै हामी स्थानीय जनतासँगको भेटघाटलाई तीव्र बनाएका छौं । ‘नेपाली काङ्ग्रेसकै नेतृत्वमा शान्ति र संविधान, नेपाली काङ्ग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने हाम्रो दलको नारा बमोजिम नै हामी अघी बढेका छौं ।

तपार्इं त स्थानीय व्यक्ति पनि हुनुहुन्छ, जनताहरुबीच तपाईंको प्रभाव कस्तो छ ?

यस क्षेत्रको विकासको निम्ति मलाई परिचित गराइरहनुपर्ने जस्तो मलाई लाग्दैन । म सानै उमेर देखि यस क्षेत्रको विकासको निम्ति हामी स्थानीयहरुले नै केही गर्नुपर्छ भन्ने मान्यता लिएर म अघी बढेको हुँ । यसपटक मैले आफू जन्मे हुर्केको क्षेत्रबाट नै निर्वाचनमा उम्मेद्वारी दिएको छु । म स्थानीय पनि भएको र स्थानीय विकासको निम्ति मबाट भएका पहलहरुको बारेमा अधिकांश व्यक्तिहरुलाई जानकारी नै भएको कारण जनताहरुले मलाई भोट दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । पछिल्लो समय नेपाली जनताहरु सचेत छन् । जसले गर्दा युवााहरुले पार्टीलाई भन्दा पनि त्यस पार्टीमा रहेका चरित्रवान् व्यक्तिलाई हेरेर सोही बमोजिम नै भोट हाल्नुपर्ने अवस्था छ ।

बाम गठबन्धनको सामना कसरी गर्दै हुनुहुन्छ ?

यसपटक हुन लागेको निर्वाचनमा हामीलाई वामगठबन्धनले ठूलो प्रभाव पार्ला जस्तो लाग्दैन । अहिलेको गठबन्धनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) आफैंलाई पनि सन्तुष्ट बनाउन सकेको छैन । भागबण्डा मिलाउने क्रममा समेत केही समस्या देखिएको छ । यसको फाइदा हामीलाई नै हुने हामीले अनुमान गरेका छौं ।

चुनावी गतिविधिहरु कसरी अघी बढेका छन् त ?

अहिले हामीले हाम्रा गतिविधिहरु निकै नै प्रभावकारी तवरले अघी बढाएका छौं । क्षेत्र नम्बर ६ (ख) प्रदेशमा ११ ओटा वडाहरु रहेका छन् । ती सबै वडामा तत्लो स्तर सम्म पुगेर हाम्रा गतिविधिहरुलाई हामीले तीव्र पारेका छौं । हामीले पार्टीलाई भन्दा पनि व्यक्तिलाई भोट हाल्छौं भन्ने किसिमलको जनलहर पाएका छौं । यस किसिमको प्रतिवद्धता जनताबाट आएका हुनाले हामी निकै उत्साहित भएका छौं ।

तपाईंबाट यस क्षेत्रको विकासको निम्ति कस्तो पहल हुने आशा गर्न सकिन्छ ?

यस क्षेत्रमा स्थानीय तहको विकासको निम्ति हामीले मुख्य त बाटोलाई नै प्राथमिकताको साथ अघी बढाउनेछौं । त्यसको अलावा यातायात र खानेपानी पनि हाम्रो प्राथमिकताका विषयहरु हुन् । भूकम्पपीडित जनताहरुले अहिले पनि सहुलियत दरले कर्जा पाउनुभएको छैन । यसैकारण यथाशक्य छिटो स्थानीय स्तरका बैंक तथा विश्वसनीय वित्तीय संस्थाबाट उक्त रकम उपलब्ध गराउनुपर्छ भन्नेमा हामी लागिरहेका छौं । साथै ऊहाँहरुmलाई नेपाल सरकारले २ प्रतिशतमा उपलब्ध गराउनुपर्ने रकम सहज तवरले वितरण गर्नुपर्नेमा हामीले जोड दिनेछौं ।

यो क्षेत्र विकासको हिसाबले कस्तो सम्भावना भएको क्षेत्र हो ?

अहिले यो प्रदेश नम्बर ६ (ख ) विकास र सम्भावनाको हिसाबले २ भागमा विभाजन गरी हेर्न सकिन्छ । जहाँ आधा क्षेत्र शहरोन्मुख छ भने आधा क्षेत्र ग्रामीण । यसैकारण बाक्लो वस्ति भएको क्षेत्रको निम्ति र पातलो वस्ति भएको क्षेत्रको निम्ति हामीले एकै किसिमको विकासनिर्माण अवधारणा अघी बढाउन सकिँदैन । साङ्लामा बाटो प्रमुख समस्याको रुपमा छ भने गंगबु र मनमैजुमा ढल प्रमुख समस्या बनेको छ ।

अहिले सम्म पनि यस क्षेत्रमा व्यवस्थित वस्ती विकास अवधारणा अघी बढ्न सकेको छैन । स्मार्ट सिटी नाम मात्रको बनेको छ । स्मार्ट सिटी निर्माण जुन रुपमा हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।
क्षेत्र नम्बर ६ (ख) प्रदेशको लागि बालाजु बाइपास देखि टोखाको भित्री क्षेत्रलाई मात्रै शहरी विकास मन्त्रालय अन्तरगत काम अघी बढाइएको छ । त्यस बाहेकका केही बाँकी क्षेत्रहरुलाई कुन क्षेत्रलाई कुन स्मार्ट सिटीमा राख्ने भन्ने बारेमा पनि स्पष्ट व्यवस्था हुन सकेको छैन ।

त्यसो भए व्यवस्थित विकासको निम्ति के गर्नुपर्ला ?

अहिलेको परिस्थितिलाई ख्याल नगरी नेपाल सरकारले गर्ने विकासका कार्यले कुनै पनि अर्थ राख्दैन । स्मार्टसिटी त खाली जग्गामा पो बनाउन सकिन्छ नि । के पहिले नै विकास भइसकेको वस्तीमा पुन भत्काएर स्मार्टसिटी बनाउनु उपयुक्त हुन्छ र ? त्यसैकारण क्षेत्र नम्बर ६ र वरपरका मिल्दाजुल्दा ठाऊँहरुलाई एकीकृत रुपमा स्मार्टसिटी अवधारणा बमोजिम अघी बढाउनु उपयुक्त हुन्छ । काभ्रेस्थलि, झोर, धर्मस्थली, गोलढुङ्गा लगायतका बस्ती कम भएका क्षेत्रमा भने सहज रुपमा नै स्मार्ट सिटी बनाउन सकिन्छ ।

शिक्षा र स्वास्थ्यको निम्ति तपाईंको पहल के रहन्छ ?

नेपालमा अहिलेको अवस्थामा शिक्षा क्षेत्र निकै नै कमजोर छ । निजी तवरबाट सञ्चालित शिक्षकले कम तलब पाउने भएपनि नतिजा राम्रो छ । तर सरकारी तवरबाट सञ्चालित विद्यालयको नतिजा भने तुलनात्मक रुपमा कमजोर छ । यसलाई सुधार्नको निम्ति पहल गर्नु जरुरी छ ।

स्वास्थ्य क्षेत्रको विकासको निम्ति १५ शैयाको अस्पताल निर्माणको निम्ति कार्य अघी बढाइसकेका छौं । यसको निम्ति करिब २ करोड रकम विनियोजन भइसकेको छ ।

उद्यमशिलता विकासको लागि तपाईंको पहल के रहन्छ ?

नेपालका युवाहरुलाई नेपालमा नै रहेर काम गर्ने वातावरण हामीले युवाहरुलाई बनाइदिनुपर्छ । अहिले नेपाली युवाहरु वाध्यताले विदेशिनुपरेको छ । कामको निम्ति विदेशिने युवालाई नेपालमा नै रोक्नुको सट्टा नेपाली युवाहरुलाई विदेशमा नै जानको निम्ति सहजीकरण गर्ने काम राज्यबाटै भएको अवस्था छ । जुन गलत छ । यसलाई नेपालमा रोक्नको निम्ति हामीले स्थानीय स्तरमा नै उपलब्ध श्रोत र साधनको प्रयोगमा जोड दिनुपर्छ ।

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: